समानुपातिक उमेदवारबाट नाम फिर्ता लिने १६४ जना पुगे

मूलखबर संवाददाता
काठमाडौं, २८ पुस

प्रतिनिधिसभा निर्वाचनको लागि दर्ता गरिएका उमेदवारकाे नाममध्ये दलहरूका तर्फबाट पेश गरिएका १६४ जनाले नाम फिर्ता लिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका निर्वाचन आयाेगले जनाएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार विभिन्न राजनीतिक दलका जम्मा १६४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका हुन् ।

नाम फिर्ता लिने दलमध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सबैभन्दा बढी ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जम्मा उम्मेदवारी फिर्ता लिएका जम्मा १६४ जनामा लोसपाबाट फिर्ता लिने ७८ जनाको संख्या जम्मा फिर्ता लिनेको झण्डै आधा संख्या हो । दोस्रो नम्बरमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट २१ जना उम्मेदवारले बन्दसूचीबाट उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् भने तेस्रोमा जनमत पार्टीबाट २० जना उम्मेदवारले नाम फिर्ताका लागि निवदेन दर्ता गराएका छन् ।

नेकपा (एमाले)बाट ५ जना, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २–२ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

त्यसैगरी  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जना, जनादेश पार्टी नेपाल बाट ६ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ४ जना, राष्ट्र निर्माण दल नेपालबाट ४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् ।