भोजपुरमा एक लाख २५ हजार सात सय ६६ जना मतदाता
भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।
अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।
स्थानीय तह अनुसार-
भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना,
षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६,
अरुण गाउँपालिका– १२ हजार छ सय ४३,
आमचोक गाउँपालिका– १२ हजार चार सय ४४,
पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३,
टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७
रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय,
साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र
हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताउनुभयो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।




