बढ्दैछ रेमिट्यान्स, एक महिनामै २ खर्ब बढी भित्रियाे, डलर पनि धेरै आयाे

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर

नेपालकाे अर्थतन्त्रको  प्रमुख मेरूदण्डहरूमध्ये रहेको रेमिट्यान्स निरन्तर बढ्दाे गतिमा देखिएको छ ।
पछिल्ला ३५ महिनायता मासिक रूपमा नेपाल भित्रिने रेमिटेन्स रकम एक खर्ब रूपैयाँभन्दा माथि रहँदै आएको छ।

यस क्रममा गत असोजमा भने नयाँ रेकर्ड थपियो। असोजमा इतिहासमै पहिलो पटक मासिक रूपमा भित्रिएको रेमिटेन्स रकम दुई खर्ब रूपैयाँ नाघ्यो। असोजमा दुई खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

लामो बिदा हुने र दसैंतिहार जस्ता चाडवाड असोज र कात्तिकमा पर्ने भएकाले पनि वर्षका अन्य महिनाको तुलनामा यी महिनामा रेमिटेन्स भित्रिने दर उल्लेख्य बढ्छ।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल पनि यो समयमा रेमिटेन्स बढ्नुमा दसैं लगायत चाडपर्व सहित अन्य कारण भएको बताउँछन्।

‘नेपाली मुद्राको अवमूल्यन हुनु, राम्रो आम्दानी हुने मुलुकमा बिदेसिने नेपालीहरू बढ्नु र राष्ट्र बैंकले औपचारिक प्रणाली प्रयोगमा गरिरहेको प्रोत्साहनका कारण पनि रेमिटेन्स बढेको हो,’ उनले भने।

२०८१ असोजमा एक अमेरिकी डलर बराबर करिब एक सय ३४ रूपैयाँ थियो। यो असोजमा एक डलर बराबर एक सय ४० रूपैयाँ थियो। डलरको तुलनामा नेपाली रूपैयाँ करिब ४.७ प्रतिशतले अवमूल्यन भएको छ।

तर मासिक रूपमा भित्रिने रेमिटेन्स रकम डलरमा पनि बढेको छ। यो भदौमा एक अर्ब २३ करोड डलर बराबर रेमिटेन्स भित्रिएकामा असोजमा एक अर्ब ४२ करोड डलर भित्रिएको थियो। भदौको तुलनामा असोजमा १९ करोड डलर धेरै रेमिटेन्स भित्रिएको हो। २०८१ असोजमा भने एक अर्ब सात करोड डलर भित्रिएको थियो।