जनतासँगै रहेर उद्धार तथा राहत कार्यमा लाग्न माओवादीकाे निर्देशन

मूलखबर संवाददाता
काठमाडौं, १८ असाेज

नेकपा माओवादी केन्द्रले भारी वर्षाले उत्पन्न विपदमा जनतासँगै रहेर उद्धार तथा राहत कार्यमा लाग्न आफ्नन कार्यकर्तालाई निर्देशन दिएकाे छ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार एक विज्ञप्ति जारी गर्दै सम्भावित जोखिम भएका स्थानका नागरिकहरुलाई सतर्कता अपनाउन तथा पार्टी पंक्तिका साथै जनवर्गीय संगठन र मोर्चाका सबै नेता कार्यकर्ताहरुलाई राम्रो तयारी र उच्च सतर्कता अपनाउँदै जनतासँगै रहेर उद्धार तथा राहत कार्यमा लाग्न निर्देशन दिएका हुन् ।

त्यसैगरी माओवादीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुलाई विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह पनि गरेको छ ।

प्रेस विज्ञप्तिकाे पुर्ण पाठ- 

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको छ जसबाट प्रमुख राजमार्गहरु बन्द भएका छन् भने हजारौं यात्रुहरु बाटोमा अलपत्र परेका छन्। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणवाट प्राप्त सूचना अनुसार आज राति वर्षाको मात्रा अझै बढेर जोखिम बढ्न सक्ने सम्भावना छ।

तसर्थ, सम्भावित जोखिम भएका स्थानका नागरिकहरुलाई सतर्कता अपनाउन हार्दिक अपील गर्दछौं। बाढी, पहिरो, डुबान, भूक्षय लगायतका विपद्‌का कारण मानवीय क्षति समेत हुनसक्ने भएकोले अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा सुरक्षित स्थानमा रहन सबैलाई अनुरोध समेत गरिन्छ।

विपद्बाट सिर्जित यस विषम परिस्थितिमा सबै तहका पार्टी पंक्तिका साथै जनवर्गीय संगठन र मोर्चाका सबै नेता कार्यकर्ताहरुलाई राम्रो तयारी र उच्च सतर्कता अपनाउँदै जनतासँगै रहेर उद्धार तथा राहत कार्यमा लाग्न हार्दिक अपिल गर्दछु।

साथै, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुलाई विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक क्रियाशील हुन अनुरोध गरिन्छ ।

मितिः २०८२।०६।१८

अग्नि सापकोटा
प्रवक्ता
ने.क.पा. (माओवादी केन्द्र)