विपदमा सहयाेग गर्न वाइसीएलले खटायाे १० हजार कार्यकर्ता
नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानमा संगठन परिचालित गरेको छ । देशभर निरन्तर वर्षा र विपद्को जोखिम बढ्दै गएपछि वाइसीएलले आफ्ना १० हजारभन्दा बढी सदस्यहरूलाई सक्रिय रूपमा खटिन निर्देशन दिएको हाे ।
संगठनको केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनहरूमा निरन्तर वर्षा, बाढी, पहिरो र डुबानका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने जोखिम बढेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन र जनसेवामा तत्पर रहन निर्देशन दिइएको छ । वाइसिएलका टोलीहरू बाढी प्रभावित क्षेत्रमा खटिने र देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “संगठनमा आबद्ध सम्पूर्ण तह–तप्काका साथीहरू, विपद् केन्द्र, सामाजिक संघ–संस्थाहरू, स्थानीय युवा क्लबहरू लगायत सबैलाई एकीकृत समन्वयका साथ जनताको सुरक्षाको कार्यमा जुट्न आह्वान गर्दछौँ ।” यसैगरी, भविष्यमा आउने जस्तोसुकै विपद् र परिस्थितिमा पनि जनताको पक्षमा र सेवामा सधैं अग्रपंक्तिमा रहनु नै हाम्रो संगठनको मूल दायित्व हो भनी जोड दिइएको छ ।
वाइसिएलका अध्यक्ष पुष्प ओलीले हस्ताक्षरित विज्ञप्तिमा यस अभियानलाई देशव्यापी बनाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै संरचनाहरूलाई आवश्यक तयारी गर्न र निर्देशन पालन गर्न निर्देशन दिनुभएको छ । संगठनका प्रवक्ताले यो अभियानमार्फत प्रभावित जनतालाई तत्काल राहत र उद्धारका लागि प्राथमिकता दिइने बताएका छन् ।





