काठमाडौं उपत्यकासहित देशभर वर्षा, राजमार्गहरू अवरूद्व

मूलखबर संवाददाता
काठमाडौं, १८ असाेज

माैसम पुर्वानुमान विभागले जनाए अनुसार नै अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो ।

विभागले आरिघाेप्टे पानी पर्ने बताएको भएतापनि यतिबेला सम्म वर्षा सामान्य नै देखिन्छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिराे गएपछि पृथ्वी राजमार्ग अवरूद्व भएको  खबर छ । जवाङ खाेला र तुइन खाेलामा पहिराे खसेकाे छ ।

अविरल वर्षासँगै खसेको पहिरोका कारण देशका दुई प्रमुख राजमार्ग नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यी दुवै सडकखण्डमा शनिबार बिहानदेखि सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, शनिबार बिहान करिब २ बजे धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोला नजिक पहिरो खस्दा मुग्लिन–नागढुंगा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। यता, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा पनि ठूलो पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन्।

काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुनेछ ।

आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।