यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आग्रह
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त आग्रह गरेका छन् ।
पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज शुक्रबारदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रूपमा अनुरोध गरेका हुन् ।
विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रूपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ ।
भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते)सम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्न तथा रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ । यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्न अनुरोध गरिएको छ ।
समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन पनि अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिन सम्पूर्ण यात्रु एवं संघसंस्थालाई आग्रह गरिएको छ ।
सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी शरणकुमार विक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनाल ९८५५०१३९९९ मा सम्पर्क गर्न भनिएको छ ।
(तस्बिर : तुइनखाेलाकाे पहिराे फाइल फाेटाे)





