काभ्रेको विपी राजमार्गमा ६ दिन रातभर यातायात बन्द रहने
भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यलय काभ्रेले बिहीबार बिहान (असोज १६ गते) जारी गरेको सूचनाअनुसार २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सबै जिल्लावासी र सम्बन्धित निकायहरूलाई पूर्वतयारीमा जुट्न अनुरोध गरेका छन् ।
यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असोज १७ गतेदेखि २० गतेसम्म यस जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा उल्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।






