तुइन खाेलामा सुख्खा पहिराेले सडक पुर्दा शुक्रबारदेखि मुग्लिङ नारायणगढ सडक अवरुद्ध, यात्रुकाे विचल्ली

मूलखबर संवाददाता
चितवन, ५ असाेज

असाेज लागिसक्दा पनि आइरहेको सुख्खा पहिराेले मुग्लिङ नारायणगढ सडक खण्ड ३ दिनदेखि अवरूद्व छ ।

शुक्रबार साँझबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि पहिरो पन्छाउने काम शनिबार राति  स्थगित गरिएको छ। तुइन खोला पुलनजिकैको पहिरो पन्छाउने काम अब आइतबार बिहानबाट फेरि थालिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

शुक्रबार साँझ साढे ६ बजे पहिरो खस्दा अवरुद्ध सडकमा शनिबार बिहानबाट पन्छाउन थालिएको थियो। तर, फेरि शनिबार बिहान अर्को ठुलो पहिरो खसेको थियो।

सडक अवरुद्ध भएपछि दशैकाे अवसरमा पश्चिम नेपाल जान खाेजेका सबै यात्रु विचल्लिमा परेका छन् ।

करिब ७० मिटरमाथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेकामा बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेको अवस्था छ। शनिबार दिनभर बाटो खोल्ने प्रयास भयो। तर, निरन्तर ढुंगा खसिरहेको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न माइकिङ गरेको छ।