नेपाली कांग्रेसमा विशेष महाधिवेशन प्रस्ताव फेल, तत्काल नेतृत्व परिवर्तन नहुने

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

नेपाली कांग्रेसमा विशेष महाधिवेशनकाे प्रस्ताव फेल भएको छ । पार्टी  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव अल्पमतमा परेको हाे।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा कसैले समर्थन जनाएनन् ।

बैठकमा थापा र शर्माले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि र युवा पुस्ताको भावना सम्मान गर्न नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यसम्पादन समिति बैठकमा २० नेताले धारणा राखेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कार्यसम्पादन समितिका एक सदस्य अनुसार बैठकमा बोल्ने २० मध्ये १८ जनाले थापा र शर्माको प्रस्तावमा समर्थन जनाएनन् । बरु महामन्त्रीद्वयको प्रस्तावमाथि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रतिवाद गरेका थिए ।