प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आयोग पदाधिकारीहरूलाई सिंहदरबार बोलाएर निर्वाचनका लागि आवश्यक तयारीका लागि ब्रिफिङ लिएकी हुन्।
छलफलका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकसहित आयोग पदाधिकारीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका थिए।
आयोगले यसबीचमा निर्वाचनका लागि भइरहेका तयारीसम्बन्धी कामकारबाही, जटिलता र सरकारले दिनुपर्ने निकासका विषयमा छलफल भएको बैठकमा सहभागी एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।
सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेको छ। सरकारले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउन चाहेको छ। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आयोग पदाधिकारीसँग गरेको छलफलमा यो कुरा राखेका थिए।





