संविधान दिवसले हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ: राष्ट्रपति पाैडेल

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले हामी सबैलाई एकजुट हुन प्रेरणा दिने बताएका छन् ।

उनलेे केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिए।