जेनजी आन्दोलनकाे असर : क्षतिको बीमा माग दाबी करिब ३० अर्ब
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारकाे विरूद्द जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण निजी सम्पत्तिमा हालसम्मकै धेरै क्षति भएकाे छ । आन्दोलनमा भएको क्षतिको बीमा माग दाबी करिब ३० अर्ब पुगेको बताइएकाे छ । नेपाल बीमा प्राधिकरणका अनुसार मङ्गलबारसम्ममा बीमा कम्पनीहरूमा परेको दाबी ३० अर्ब हाराहारी पुगेको हो ।
निर्जीवन बीमा तथा रि-इन्स्योरेन्स कम्पनीहरूलाई २०७२ बैशाख, कोरोना महामारी, २०८० साल असोजको बाढी लगायतका प्राकृतिक तथा महाविपत्तिले नदिएको दायित्व जेनजी आन्दोलन दिने देखिएको छ ।
आन्दोलनका क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी निर्जीवन बीमा कम्पनी तथा रि-इन्स्योरेन्स कम्पनीलाई अर्बौंको दायित्व पर्ने देखिएको हो ।
प्राधिकरणका अनुसार क्षतिको मुल्यांकन हुन बाँकी नै रहेको तथा थप माग दाबी पनि आउन बाँकी नै रहेकाले यो रकम अझै ठूलो हुन सक्नेछ ।
‘अहिले ठूला तथा व्यावसायिक घरानाका प्रतिष्ठानमा आन्दोलनकारीले गरेको तोडफोड र आगजनीको नोक्सानीहरूको माग दाबी आएको देखिन्छ,’ ती अधिकारीले भने, ‘सरकारी सम्पत्तिको बीमा नभएपनि गाडीहरूमा तेस्रो पक्षको बीमा हुने भएकाले त्यो आउन बाँकी छ, त्यसका साथै साना तथा सामान्य तोडफोड र लुटपाटबाट भएका क्षतिको दाबी आउन अझै धेरै बाँकी भएकाले करिब ४० अर्बभन्दा धेरैको दाबी आउने अनुमान गरिएको छ ।’
प्रदर्शनकारीले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतसहित अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए ।
तर, सरकारी कार्यलयको बीमा नभएकाले बीमा कम्पनीहरूलाई देखिएको क्षति अनुसारको दायित्व पर्दैन । प्रदर्शनकारीले निजी तथा औद्योगिक सम्पत्तिमा समेत तोडफोड र आगजनी गरेका कारण भने दायित्व बढेको हो ।
आन्दोलनकारी चन्द्रागिरि केबलकार, भाटभटेनी सुपरमार्केट स्टोर, गाडीका केही शोरुम, बैंकका शाखा कार्यालय, मौलाकालिका केबलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, ह्यात रिजेन्सी होटल, व्यक्तिगत घर तथा व्यवसायमा तोडफोड तथा आगजनी गरी आंशिक वा पूर्ण क्षति पुर्याएका छन् । निजी क्षेत्रका अधिकांश व्यवसाय ऋणमा चल्ने र ऋणीको प्रक्रियामा बीमा अनिवार्य हुन्छ । त्यसले गर्दा पनि ती क्षेत्रको दायित्व बीमा कम्पनीको आएको हो ।





