जेनजी आन्दोलनकाे असर : १३ हजार भन्दा बढीको राेजगारी प्रभावित

मूलखबर संवाददाता
काठमाडौं, ३० भदाै

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विराेधमा जेन जेड पुस्ताका युवाले आव्हान गरेकाे आन्दोलनका क्रममा दुई दिनमा भएको विध्वंसले हजारौं जनाकाे राेजगारी खाेसिने अवस्था सिर्जना भएको  छ ।

दुइ दिनमा मुलुकभर निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्षति  पुग्दा १३ हजारभन्दा बढी रोजगारी प्रभावित भएको पाइएको छ ।

यो धेरै रोजगारी प्रदान गरिरहेका होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकारलगायत संस्थाले प्रदान गरेको राजगारीको संख्या हो ।

होटल संघ नेपाल (हान) को तथ्यांकअनुसार नेपालका होटल तथा आतिथ्य क्षेत्रमा क्षति पुर्‍याएपछि दुई हजार हाराहारीको रोजगारी प्रभावित भएको छ । करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार कर्मचारी तथा कामदारको जागिर प्रभावित भएको हानको प्रारम्भिक आकलन छ ।

मुलुकभर भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेको छ । तीमध्ये ९ शाखा तोडफोड भए पनि सञ्चालनमा आइसकेका छन् । बाँकी १२ शाखा आगजनीबाट पूर्ण ध्वस्त छन् । ती हाल सञ्चालनमा छैनन् ।

यसकारण भाटभटेनीमा पुगेको क्षतिबाट करिब ५ हजार रोजगारी प्रभावित भएको अनुमान गरिएको छ । यद्यपि सुपरमार्केटले कुनै पनि कर्मचारीलाई रोजगारीबाट नलिकाल्ने र तत्काल अरु शाखामा काम दिने बताएको छ ।