सरकार जनताबाट डरायो, काठमाडौंको रिंगरोडभित्र कर्फ्यु घोषणा, सरकार राजीनामा देऊ

मूलखबर संवाददाता
काठमाडौं, २४ भदौ ।

हिजो १९ जना युवाको ज्यान जानेगरी गोलीकाण्ड गरेको सरकारले आज विहानैदेखि फेरी काठमाडौंको रिंगरोडभित्र पुरै क्षेत्रमा कर्फ्यु घोषणा गरेकोछ । निहत्था र निशस्त्र जनताको मागलाई गोलीले भुटेर आन्दालन निस्तेज पार्न खोजेको सरकारले आज कर्फ्युको सहारा लिन खोजेको देखिएको छ । चौतर्फी राजीनामा र वहिर्गमनको दबाब बढिरहँदा केपी ओली नेतृत्वको सरकारले कर्फ्यु थप्दै, थप दमन गर्दै सत्ता टिकाउने खेलमा देखिन्छ ।

काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश लागु हुनेछ ।

कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूको सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।