जेनजी आन्दोलन : बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जेन जी युवाहरुको प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरे जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।
जेन जी युवाहरुको समुहले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध आज विहानदेखि गरेको आन्दोलनका क्रममा केही आन्दोलनकारीहरु संसद भवनको परिसर भित्र प्रवेश गरी तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याँस चार्ज गरेको थियो । त्यसपछि पनि भिड नराकीएपछि प्रहरील गोली चलाउनुका सथै जिल्ला प्रशासन कार्यलयले करफु जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेपछि कर्फ्यू जारी गरेको बताए । प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो।
कर्फ्यू लगाउनुअघि प्रजिअ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए। गृहमन्त्री लेखक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरीसम्बन्धी विधेयक छलफलमा थिए।
सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी भएको हो। बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।
त्यस्तै बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।





