माओवादी अध्यक्ष प्रचण्ड लमजुङ आउँदै, मध्यपहाडी लाेकमार्ग अभियान पुन: शुरू हुँदै

मूलखबर संवाददाता
लमजुङ, २१ भदौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज लमजुङ आउँदै हुनुहुन्छ । माओवादी केन्द्रले आजदेखी शुरू गर्न लागेकाे मध्यपहाडी लाेकमार्ग अभियानकाे क्रममा अध्यक्ष प्रचण्डसहितका नेताहरू लमजुङ आउन लाग्नुभएको हाे ।

माओवादी केन्द्रले जनतासँग माओवादी मध्य पहाडी लाेकमार्ग अभियान अन्तरगत आज लमजुङको मध्यनेपाल नगरपालिकाकाे भाेर्लेटारबाट अभियानकाे शुरूवात गर्ने र भाेली सुन्दरबजार नगरपालिका तथा राइनास नगरपालिकामा विभिन्न कार्यक्रम र जनभेटघाट र अन्तरक्रिया सम्पन्न गरेर गाेरखा प्रस्थान गर्ने माओवादी लमजुङ इन्चार्ज पारसमणी पाैडेलले जानकारी दिनुभयाे ।

पाैडेलका अनुसार भाेर्लेटारमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्षहरू र महासचिव सहितकाे टाेलीलाई २१ गते  दिउँसो स्वागत गर्ने र त्यसपछि सहिद परिवार भेटघाट, जनभेटघाट गर्ने कार्यक्रम रहेकाे छ भने भाेली २२ गते विहान मर्निङ वाक, जनभेटघाटसहित सुन्दरबजार नगरपालिकाका काेइरालाफाँट, सुन्दरबजारस्थित लमजुङ क्याम्पस अवलोकन र भेटघाटपछि सिउँडिबारमा वृहत जनभेटघाट, जनसंवाद र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुनुहुनेछ ।

त्यसैगरी राइनास नगरपालिकामा आयाेजना गरिने सहिद परिवार भेटघाट,  अन्तरक्रिया र जनसंवादपछी माओवादी नेतृत्वको टाेली गाेरखाकाे पालुङटार प्रस्थान गर्नेछ ।

यसपटकको अभियानमा २३ गते गाेरखा पालुङटार नगरपालिकामा महान् सहिद शुरेश वाग्ले स्मृति दिवसकाे कार्यक्रममा सहभागी हुनुका साथै गाेरखाका मसेल र आरूघाटमा जनसंवाद र अन्तरक्रिया हुने र २४ गते धादिङ तथा २५ गते नुवाकोटका विभिन्न कार्यक्रम र जनभेटघाटमा सहभागी भएर माओवादी अध्यक्ष प्रचण्डसहितकाे अभियान टाेली काठमाडौं फर्कने कार्यतालिका माओवादी केन्द्रीय कार्यलयले तय गरेको छ ।

माओवादी केन्द्रकाे गत केन्द्रीय समिति बैठकले हुलाकी राजमार्ग केन्द्रीत तराई मधेस जनजागरण अभियान र मध्यपहाडी लाेकमार्ग अभियान सञ्चालन गर्ने निर्णय गरेको थियाे । जस अनुसार हुलाकी राजमार्ग केन्द्रीत अभियान पुर्णरूपले सफल भएको निष्कर्षसहित मध्यपहाडी लाेकमार्ग अभिषान सञ्चालन गरेकाे थियाे । सुदुरपश्चिमबाट शुरू भएकाे साे अभियान कास्की जिल्लाकाे पाेखरामा आएर स्थगित गरिएको थियाे । यसपटक ४ वटा जिल्लामा अभियान सकेपछि काठमाडौं देखी पुर्वका जिल्लामा अभियानकाे तालिका पछि प्रकाशन गर्ने माओवादीले जनाएको छ ।