प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने रिटमा कागजात झिकाउने सर्वोच्चकाे आदेश
सत्ता गठबन्धनमा रहेकाे नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले बुधबार नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुन: समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ।
सरकारका प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले दुई तिहाई बहुमत भएको दाबी गरिरहेका बेला नाउपाले समर्थन फिर्ता लिएपछि अन्याैलता सिर्जना भएको छ ।





