जडिबुटी भनेर रसिद काटेकाे कन्टेनरमा विद्युतिय चुराेट तस्करी ?

मूलखबर संवाददाता
काठमाडौं, ७ भदौ

हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको छ ।

डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल एपीएफ टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरमा ईएलएफबीएआर ब्रान्डका करिब ४० हजार थान भेप बरामद भएको छ ।

डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन अधिकृत लोकजंग शाहीले नेपालगन्जसम्मका लागि जाँचपास गरेर पठाएको कन्टेनर सशस्त्र प्रहरीले दैलेखबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई नेपालगन्ज लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरी भित्रिएको ३९ हजार ९ सय थान भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी फेला परेको हो । बरामद भेप करिब १० करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार केजी सेतक चिनी उल्लेख गरी वन कार्यालय हुम्लाले नेपालगन्जसम्म पुग्ने गरी कन्टेनर जाँचपास गरेको थियो ।

प्रतिकेजी २५ रुपैयाँ उल्लेख गरी एक लाख २५ हजार राजस्वको रसिद काटेर कन्टेनर जाँचपास गरिएको थियो । तर राजस्व र सशस्त्र प्रहरीले चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट भेप तस्करी गरिएको आशंकामा सुरुदेखि नै कन्टेनर निगरानी गरेको थियो । राजस्व र सशस्त्रको टोलीले कन्टेनर पछ्याउँदै दैलेखबाट नियन्त्रणमा लिएका थिए ।