राज्य व्यवस्था समितिकाे सभापतिकाे निर्वाचन भदौ ११ मा हुने

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौ

निजामती विधेयकमा गडबडीकाे आराेप लागेपछि छानविनकाे लागि सभापतिले राजिनामा दिएर खाली भएको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ।

साेमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।

सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।

समितिका सभापति रामहरि खतिवडाले छानवीनकाे लागि राजिनामा दिन उनको पार्टी नेपाली कांग्रेसले निर्देशन दिएपछि राजिनामा दिएका थिए । निजामती विधेयक प्रतिनिधि सभामा पारित गरेपछि कुलिङ अफ पिरियडमा गडबडी भएको सार्वजनिक भएको थियाे ।