सगरमाथासहित उच्च हिमाल आराेहण शुल्क बढ्याे, तर यी हिमाल आराेहण निशुल्क
सरकारले सगरमाथासहित हिमाल आराेहणकाे शुल्क बढाएकाे छ तर कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाल भने निशुल्क आराेहण गर्न पाइन्छ । १८ साउनको मन्त्रिपरिषद् बैठकले कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण हिमाल आराेहण निशुल्क बनाएको छ । यी प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटर माथिका रहेका छन् । यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।
विदेशी आरोहीको हकमा सगरमाथा चढ्न सलामी दस्तुर ११ हजार डलरबाट बढाएर १५ हजार डलर पुर्याइयो भने नेपालीको हकमा ७५ हजार रुपैयाँबाट बढाएर डेढ लाख रुपैयाँ पुर्याइयो । यो शुल्क आउँदो भदौ १६ देखि लागू हुनेछ । अन्य हिमालको पनि दस्तुर बढाइएको छ ।
१ साउनदेखि आरोहीहरुले ५ हजार ८ सय ७० मिटरदेखि ७ हजार १ सय ३२ मिटर उचाइका हिमालहरु बिना कुनै आरोहण दस्तुर चढ्न सकिनेछ । नि:शुल्क आरोहण अनुमति दिइएकामध्ये ७७ हिमालहरु कर्णाली प्रदेशका हुन् भने २० सुदूरपश्चिम प्रदेशका । पर्यटन विभागका निर्देशक हिमाल गौतमले आरोहण खुला गरिएका हिमालहरु अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित भएको बताउँदै भने, ‘ती ठाउँहरु अत्यन्तै सुन्दर छन् तर सडक सुविधा नभएकाले त्यहाँ पर्यटक र आरोहीहरुको संख्या पनि निकै कम छ । यो नयाँ नियमले संख्या बढाउन केही आशा जगाउँछ कि भन्ने विश्वास छ ।’





