कैलाली कारागारमा कैदीबन्दीहरुबीच झडप, एकको मृत्यु, ४८ घाइते, किन भयो घटना ? छानविन समिति गठन

मूलखबर संवाददाता
काठमाडौं, २५ साउन ।

सुदुरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्ला कारागार धनगढीमा कैदीबन्दीबीच भएको झडप र आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । कैदीबन्दीको एक समूहले अर्को समूहलाई शुक्रबार राति सांघातिक आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । दुवै समूहका ४८ कैदीबन्दी घाइते छन् । कारागारमा रहेका दुई ब्लकमध्ये ‘ए’ ब्लकका कैदीबन्दीले ‘बी’ ब्लकमा गएर अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

कारागार प्रशासनका अनुसार दुई ब्लकबीच अग्लो पर्खाल छ । ‘ए’ ब्लकका कैदीबन्दी शुक्रबार रातिपर्खाल तोडफोड गरेर अर्को ब्लकमा छिरेका थिए । उनीहरूको आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको हो । मृत्यु भएका चौधरीको शव सेती प्रदेश अस्पतालमा रहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याएर उपचारको लागि ट्रमा अस्पतालमा भर्ना गरिएको छ ।

भरतको निधार र तिघ्रामा धारिलो हतियार प्रहार भएको पाइएको उनका भाइ विजयले बताए । भरत लागूऔषध मुद्दामा गत माघमा पक्राउ परेका थिए । विजयले घटनाको छानबिन नहुँदासम्म शव नउठाउने अडान लिएका छन् ।

घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । सुरक्षा संवेदनशीलता र ठाउँ अभावका कारण दिउँसोतिर उनीहरूलाई अस्पताल नजिकै रहेको कोरोनाकालीन होल्डिङ सेन्टरमा राखेर उपचार गरिएको थियो ।

घाइतेलाई होल्डिङ सेन्टरमा सारिसकेपछि मात्र आफन्तले भेट्न पाएका थिए । भेटघाट गरेर फर्किएका घाइतेका आफन्तका अनुसार धेरैजसोको शरीरभरि घाउचोट रहेको, केहीका हात र खुट्टा भाँचिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ३६ जनाको अवस्था मध्यम र ९ जना सामान्य रहेको राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम निर्देशक प्रकाशराज भट्टले जानकारी दिए । ‘घाइतेमध्ये धेरैजसोमा धारिलो हतियार प्रहार गरिएको छ,’ उनले भने । गम्भीर घाइतेमध्येका आयुष भट्टलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

किन भयो घटना ?

कैलाली कारागारमा शुक्रबारको घटना हठात् भएको भने होइन । एकछत्र रजगज चलाइरहेको नवीन रावल समूहका अधिकांशलाई जेल सरुवा गरिएपछि कारागार अशान्त थियो । रावल समूहका १४ जनालाई कारागार प्रशासनले गत ३ असारमा दाङ, बर्दिया र दैलेखमा सरुवा गरेको थियो । लगत्तै त्यही समूहका थप दुई जना पनि स्थानान्तरण भए । बाँकी रहेका आठ जना पनि सरुवाको सूचीमा थिए । त्यसपछि उनीहरूले ‘विरासत’ जसरी पनि जोगाउन हुलदंगा मच्चाउन थालेका थिए । उनीहरू कारागारको ए ब्लकमा छन् ।

अर्कातिर कारागारभित्र जयन्द्र शाहको समूह छ । अमरावती खुकुरी काण्डमा संलग्नको अर्को समूह पनि छ । जेलभित्र विभिन्न समूह भए पनि ती रावल समूहको रजगज चलेका बेला दबिएका थिए । तर जब रावल समूहलाई छिन्नभिन्न पारियो, अर्को समूह पनि सक्रिय हुन थालेको थियो ।

ती समूहका केही व्यक्ति कारागार चलान भएपछि ‘ग्याङ वार’ पनि कारागारभित्रै प्रवेश भएको थियो ।

कारागार व्यवस्था विभागले बाँकेका जेलर जालन्धर भुसाललाई शनिबार कैलाली कारागार प्रमुखका रूपमा खटाएको छ । १ सय ५० जना क्षमताको कैलाली कारागारमा हाल ६ सय ९५ कैदीबन्दी छन् । तीमध्ये ५८ महिला र अरू सबै पुरुष हुन् ।

प्रजिअ हमालसहित सुरक्षा निकाय प्रमुखले शुक्रबार दुवै समूहका कैदीबन्दीबीच छलफल गरेका थिए । त्यतिबेला ‘बी’ ब्लकका कैदीबन्दीले आफूहरू असुरक्षित रहेको बताएका थिए । ‘शुक्रबार दिउँसो दुवै पक्षबीच छलफल गरेर आइन्दा कुनै झमेला नगर्ने समझदारी गराएका थियौं,’ प्रजिअ हमालले भने, ‘राति अकल्पनीय रूपमा यस्तो घटना भयो ।’

छानविन समति गठन

कारागारमा भएको आक्रमण, घाइते र मृत्यु भएको घटनाको विस्तृत अनुसन्धान तथा छानबिन गर्न जिल्ला सुरक्षा समितिले शनिबार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्रका डीएसपी जनकराज पन्त र अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य तथा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव छन् । समितिलाई घटनाको छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिएकाे समाचार कान्तिपुरमा छ ।