बागमती प्रदेशका मुख्यमन्त्रीबाट लामा हट्ने, बानियाँ आउने
अन्ततः बागमती प्रदेशका मुख्यमन्त्री कांग्रेस नेता बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । उनले संसदिय दलको नेतामा पराजीत भएपछि आज राजीनामा दिनेभएका हुन् । उनको राजीनामा आएपछि अर्का नेता तथा संसदिय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने भएका छन् ।
१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।
शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए ।
लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्वसहमतिअनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।





