हल्ला होइन, संगठनभित्र छलफलबाट समाधान खाेजाैं : अनन्त

मूलखबर संवाददाता
काठमाडौं, १७ साउन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी भित्र देखा पर्ने समस्याको समाधान पार्टीभित्रै खाेजिनुपर्ने बताएका छन् ।

पार्टीको जारी स्थायी समिति बैठकमा उपमहासचिव पुनले पार्टीभित्र चल्ने छलफल स्वभाविक छलफल भएको तर यसलाई गम्भीर विभाजनको रूपमा चित्रण गर्नु गलत भएको बताए ।

स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पुनले पार्टीभित्रको सामान्य मतभेदलाई अनावश्यक ढंगले अतिरञ्जित गरिएको टिप्पणी गरे। “धेरैजसो सञ्चार माध्यम र केही व्यक्तिहरूले सानातिना विषयलाई ठूलो बनाउने काम गरिरहेका छन्,” पुनले भने, “यो स्वाभाविक छलफल हो, तर यसलाई गम्भीर विभाजनको रूपमा चित्रण गर्नु गलत हो।”

बैठकमा गणेशमान पुन, सत्या पहाडी, कमला रोका लगायत नेताहरूले जनार्दन शर्माले पार्टीभित्रको आन्तरिक विषय बाहिर ल्याएको भन्दै कडा आलोचना गरेका थिए। उनीहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव समेत दिएका छन्।

तर वर्षमान पुनले ती अभिव्यक्तिहरूलाई आत्ममन्थनको हिस्सा भन्दै जनार्दनमाथि गरिएको टिप्पणीहरूलाई सन्तुलित रुपमा लिन आग्रह गरे। “पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै मतभेद समाधान गर्दै अघि बढ्छौँ,” उनले भने, “हल्ला होइन, संगठनभित्र छलफलबाट समाधान खोजिन्छ।”

पार्टीको हिजाेबाट शुरू भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले बैठकका एजेन्डा प्रस्तुत गर्दै समसामयिक विषयमा प्रस्ताव पेश गरेका थिए । प्रचण्डको प्रस्तावमाथि आज स्थायी समितिका सदस्यहरूले आफ्नो धारणा राखेका हुन् ।