कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा पराजित

मूलखबर संवाददाता
काठमाडौं, १३ साउन

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाउनु भएको छ ।

आज भएको मतविभाजनमा उहाँको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो । योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । उहाँविरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने बताउनुभयो ।

“संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो, “सरकार एउटा पाटो हो, संसदीय दल अर्काे पाटो हो । मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन ।” आफूविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरु हुने उहाँले बताउनुभयो ।