आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बाेधन गर्ने
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्ताैलाले बताए । सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही सम्बोधन गर्नेछन् ।
संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिनुहुने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।
यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, आजै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।





