केपी ओलीसँग इश्वर पाेखरेलकाे भनाभन किन भयाे ?

मूलखबर संवाददाता
काठमाडौं

एउटै पदमा दुई कार्यकाल र उमेर हदका विषयमा केन्द्रित एमाले केन्द्रीय पदाधिकारी बैठकमा बिहीबार करिब आठ घण्टा बहस चल्यो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको कार्यशैलीका कारण पार्टीभित्र विधि, पद्धति भत्किएको भन्दै आलोचना गरे । बैठकमा ओली र पोखरेलबीच सवालजवाफसमेत भयो । पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेका पोखरेल पार्टीको आन्तरिक लोकतन्त्रको पक्षमा धारणा राख्दै आएका छन् । आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदामाथि चर्को बहस भइरहेको सन्दर्भमा केपी सँग सवालजवाफमा उत्रिएका पाेखरेलसँग गंगा बिसिले गरेको कुराकानी –

केन्द्रीय पदाधिकारी बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिएपछि अब ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकाल नरहने पक्का भयो होइन ?

केन्द्रीय पदाधिकारीले विधानलाई अन्तिम रुप दिएको होइन । विधान मस्यौदामाथि पोलिटब्युरोमा छलफल भइरहेको छ । यो केन्द्रीय कमिटी, महाधिवेशन प्रतिनिधिसमक्ष पठाइनेछ । यो विधान संशोधनमाथि छलफल गर्ने विधि हो । विधान महाधिवेशन पास गरेपछि फेरि राष्ट्रिय महाधिवेशनले अन्तिम रुप दिन्छ । त्यसैले विधानमा टुंगो लागिसक्यो भन्न मिल्दैन ।

ओेलीसँग इश्वरकाे किन भयाे भनाभन ?

मैले विधिसम्मत तरिकाले पार्टीको आन्तरिक जीवनको कुरा उठाएको हुँ । विगतमा अध्यक्षले दार्शनिक राजनीतिक, वैचारिक र कार्यक्रमिक हिसाबले राख्नुभएको थियो । मैले पनि त्यही विषय उठाएको हुँ । यो उमेर हद र कार्यकालको विषय मन लाग्दा राख्ने, मन नलाग्दा नराख्ने विषय होइन । पार्टीमा एउटा थिति बसाउनुपर्छ भन्ने कुरा गरेको हो । विगतमा अध्यक्षले जसरी कुरा उठाउनुभएको हो, मैले पनि त्यसरी उठाएको हो ।

वरिष्ठ उपाध्यक्ष पद किन फालियाे ?

वरिष्ठ उपाध्यक्ष मेरै लागि बनाएको होइन । यो मेरो ‘ट्रेड मार्क’ होइन । म यसमा रहने भन्ने छैन । तर पार्टी संगठनको संरचना बनाउँदा सबै कुराको भाँती पुर्‍याउनुपर्छ भन्ने हो ।

पार्टी विधान नेताको स्वार्थअनुसार चलाउने दस्ताबेज हो र ?

आवश्यकताअनुसार विधान संशोधन हुनुपर्छ । त्यो पार्टी बलियो बनाउने हिसाबले हुनुपर्छ । विधान महाधिवेशन संशोधन गर्नकै लागि हो । त्यसो गर्दा प्रतिनिधिको रुपमा स्वामित्व रहन्छ । विधान धेरै अस्थिर बनाउनु हुँदैन । कति कुरा सच्याउनु पनि पर्छ ।

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने गरी विधान संशोधन हुन लागेको हो ?

उहाँलाई राजनीतिमा आउन संविधानले रोकेको छैन । केन्द्रीय कमिटीको बैठक सकिएपछि अध्यक्षले उहाँसँग छलफल गर्ने भन्नुभएको छ । पार्टी विधान मस्यौदाले पनि उहाँलाई राजनीतिमा सक्रिय हुन रोकेको छैन ।