घुस डिल काण्डमा मुछिएका मन्त्री गुप्तालाई प्रधानमन्त्री ओलीकै संरक्षण ? किन भए मौन ?
कर्मचारी सरुवा बढुवामा घुस डिल गरेको अडियो नै सार्वजनिक भएपछि विवादमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन देखिएका छन् । संसद र जनस्तरमा समेत आलोचना र राजीनामा वा बर्खास्तको माग आइरहेका बेला काण्डमा सहभागि देखिएका मन्त्रीलार्य मन्त्रिपरिषद् बैठकमा सहभागि गराएर कुनै छलफल नै नगराउनुले ओली उनीबारे कुनै एक्सन लिने मुडमा नदेखिएको प्रष्ट भएको छ ।
कर्मचारी थमौती र जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्तिसँग जोडिएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै भएन । एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा गुप्ताबारे कुनै छलफल र प्रसङ्ग नै उठेन ।
‘मन्त्रिपरिषद् बैठक पनि छोटो समय बस्यो, केही निर्णयहरू भए अरू कुरा भएन’, ती मन्त्रीको भनाइ छ । अर्का एक मन्त्रीले पनि बैठकमा घुस काण्डबारे प्रधानमन्त्रीले कुनै कुरा नै नउठाएको जिकिर गरे । ‘अरुले यो विषय उठाउने कुरा भएन । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले नै यो विषय उठाउनुपर्ने हो,’ उनले भने, ‘उहाँहरु नै यस विषयमा मौन बसेपछि केही छलफल भएन ।’
घुस काण्डमा मुछिएपछि मन्त्री गुप्ताले आजै राजीनामा दिने अपेक्षा गरिएको थियो । तर उनले राजीनामा पनि दिएका छैनन् ।
यसअघि मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए । चाैतर्फी दबाब बढिरहँदासमेत प्रधानमन्त्री माैन देखिँदा गुप्तालाइर् अाेलीकै संरक्षण भएकाे विश्लेषणा गर्न थालिएकाे छ ।





