स्पेनमा भएको मानव तस्करी प्रकरणमा प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध स्पेनमा भएको मानव तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्पेनमा आयोजीत राष्ट्रसंघको कार्यक्रममा प्रधानमन्त्री सहभागि हुने क्रममा गएका केही मानिसहरु नफर्किएको भन्ने विषयमा प्रधनमन्त्री लगायत जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी परेको छ।
युवराज सफल नाम गरेका व्यक्तिले आइतबार अख्तियारमा उजुरी दर्ता गर्दै अन्तर्राष्ट्रिय सम्मेलनको नाममा स्पेन गएका १० जना नेपालीको रहस्यमय रूपमा वेपत्ता भएको घटनामा प्रधानमन्त्री ओलीको प्रत्यक्ष जिम्मेवारी रहेको बताएका छन्।
उक्त टोली “
“International Conference on Financing for Development of United Nations ” मा सहभागी हुन स्पेन गएका थिए। उजुरी अनुसार, ती प्रतिनिधिहरू सम्मेलनपछि नेपाल नफर्किएको र यो घटनामा राज्यसंरक्षित मानव तस्करीको आशंका उब्जिएको छ।

उजुरीमा भनिएको छ,
“जसरी कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिएको थियो, सोही नजिर अनुसार तत्कालीन प्रधानमन्त्रीज्यू ओलीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। जिम्मेवार पदमा बसेर यस्तो गम्भीर लापरवाही गर्नु दण्डनीय अपराध हो।”
सफलले तत्काल पक्राउको माग गर्दै उच्चस्तरीय अनुसन्धान टोली गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र अन्तर्राष्ट्रिय छवि बिगार्ने क्रियाकलापमा संलग्नहरूलाई कारबाही गर्न पनि आग्रह गरेका छन्।
अख्तियार स्रोतले उजुरी प्राप्त भएको पुष्टि गर्दै प्रारम्भिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।





