माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा सम्वोधन गर्ने, प्रधानमन्त्री ओली के गर्लान् ?
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।
उनको सम्बोधनमा उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई निर्देशन दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सन्देश पठाउँदै, ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा। प्रचण्डज्यूले प्रतिनिधिसभामा बोल्दै हुनुहुन्छ,’भनी जानकारी गराएका छन् ।
प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, बढ्दो बाढी पहिरो विपद, भ्रष्टाचार विरोधी अभियान र सरकारको भ्रष्ट रबैया, संसदमा देखिएको वेथिति आदिका विषयमा संसदलाई सम्बोधन गर्ने बताइएको छ ।
प्रचण्डको यस अघिको सम्वोधनमा उपस्थित हुने गरेका कांग्रेस सभापति देउवा र अनुपस्थित रहने गरेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आजको बैठकमा आउँछन् की आउँदैनन् भन्ने चासो देखिएको छ ।
राजनैतिक संस्कार र संसदीय पराम्परा तथा मान्यता अनुसार प्रमूख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री तथा सत्ता प्रमूख र सत्तारुढ दलका नेताको अनिवार्य उपस्थिति हुनेपर्ने हुन्छ । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली प्रचण्डको सम्वोधनमा धेरै जसो अनुपस्थित हुने गरेका छन् । आज उनको उपस्थिति के हुन्छ त्यसले उनको राजनैतिक इमान्दारीता र संसदीय मुल्यप्रतिको प्रतिवद्धाको मुल्यांकन हुनेछ ।
आफूलाई लोकतान्त्रिक दल र लोकतान्त्रिक नेताको रुपमा प्रचार गर्न रुचाउने एमाले अध्यक्ष ओली र कांग्रेस सभापनि शेरबहादुर देउवाले कस्तो नैतिकता देखाउँछन् आजको बैठकपछि छलंग हुनेछ ।





