भाेटेकाेशी बाढीबाट कति जलविद्युत् आयाेजनामा क्षति ?
चिनकाे तिब्बतमा हिमताल फुटेर आएकाे अनुमान गरिएको भाेटेकाेशी बाढीले नुवाकोट र रसुवाका दर्जनौं जलविद्युत आयोजनामा क्षति पुग्दा अर्बौंको नोक्सान भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
नुवाकोटका चार विद्युत् गृहसहित विद्युत् हब र रसुवातर्फ दुईवटा जलविद्युत् गृह र त्यसका संरचना ध्वस्त बनाएको छ । यसबाट २ सय ३५ मेगावाट जलविद्युत् बन्द भएको प्राधिकरणले जनाएको छ ।
बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् योजनाको हेडवक्र्स नै ध्वस्त बनाएको छ । त्यसैकारण यो आयोजनाको भविष्य अनिश्चित भएको छ । सो आयोजनाले गत २०८१ साल पुसदेखि मात्र विद्युत् उत्पादन सुरु गरेको थियो ।
२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् योजनाको टेलरेसमा बाढी पसेर क्षति पुर्याएको प्राधिकरणका प्रवक्ता तथा निर्देशक राजन ढकालले जानकारी दिए । उनका अनुसार बाढीले ६० मेगावाट क्षमताको त्रिशूली थ्री ए हेडवक्र्स नै बगाएको छ । बाढीले १३२ केभिएको त्रिशूली सबस्टेसन लाइनको संरचना बगाएको छ ।
बाढीले त्रिशूली थ्री बीको संरचनामा समेत क्षति पुर्याएको छ । तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको हेडगेडमा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनका अनुसार त्रिशूली जलविद्युत् गृहकै पानीबाट पाँच किलोमिटर तल लगेर उत्पादन गरिएको देवीघाट जलविद्युत् गृहबाट समेत उत्पादन बन्द भएको छ ।
सबैभन्दा धेरै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । उक्त आयोजनाको हेडबक्र्स नै ध्वस्त भएको छ । ६० मेगावाटको त्रिशूली ३ ए र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन नहुने गरी क्षति पुगेको जनाइएको छ ।




