रास्वपाका सांसद अर्याल र कांग्रेस सांसद खतिवडा बीच संसदमै भनाभन, के के भने ?

मूलखबर संवाददाता
काठमाडौं, १५ असार ।

असार १५, खेतमा हिलो खेल्दै दही चिउरा खाएर किसानहरु रमाइलो गरिरहँदा नेपालको प्रतिनिधि सभाको बैठकमा भने सांसदहरुबीच जुहारी चलेको छ । रास्वपा सांसद डिपी अर्याल र काङ्ग्रेस सांसद रामहरि खतिवडाबीच संसद बैठकमै भनाभन भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोधमा उत्रिरहेको रास्वपाका उपाध्यक्ष तथा सांसद डिपी अर्यालले चाेरेर खानेहरुले काम गरेर खानेहरुको विरोध गर्न सुहाउँदैन भनेर भन्ने वित्तिकै कांग्रेसका सांसद तथा राज्इ व्यवस्था परामर्श समितिका सभापति रामहरि खतिवडाले नियमापत्ती गरेका थिए त्यसपछि भनाभन भएको थियो ।

उनीहरुले संसदमा के भने ? दुबैजनाको भनाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

डिपी अर्याल 
३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तुस्करीविरुद्ध हामी आुन्दोलनमा छौँ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति माग गरिरहेका छौँ । यस विषयलाई विषयान्तर गर्नेगरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो । राजनीतिलाई पेसा लगाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् । मलाई दया लाग्छ ( २०४८र४९ सालतिर मन्त्रीका पिए बसेर कागज किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद् भएर बसिरहेका छन् । अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशका केही गरेर खाने मान्छे हुँ । चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बितेको छ भने म के भनौँ । मेरो कम्पनी मात्र एक जना मान्छे भिजिट भिसामा जापान मात्र होइन संसारको कुनै देश गएको छ । हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्‍यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ ।

रामहरि खतिवडा 
हामीले कुनै माननीयको नाम किटान गरेर भनेका थिएनौँ । चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठूलो स्वरले संसद थर्काइन्छ महोदय ? म अनुरोध गर्न चाहन्छु  कुनै बेला हामी अदालतबाट निर्दोष भएर संसदमा प्रतिनिधित्व गरेका छौँ । तर आज दोषी भएका मानिसहरू ठूलो स्वरमा कराउँदाखेरि यहाँ आपत्ति छ । हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ । छानबिन गरौँ दोषी छ भने कारबाही गरौँ । निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ । कानुनी रूपमा हिजो पनि आज पनि म्यानपावर कम्पनीलाई दलालमार्फत सुविधा दिने २०९ म्यानपावर कम्पनीलाई अवैध रूपमा सञ्चालनको अनुमति दिने को मान्छे श्रम मन्त्री थियो ?  त्यो छानबिन गर्न म माग गर्दछु ।