अमेरिकी आक्रमणले इरानमा कति क्षति भयाे ?

मूलखबर संवाददाता
काठमाडौं

इजरायलसँगकाे प्रति आक्रमणमा रहेकाे इरानम अमेरिकी आक्रमण भएपछि इरानकाे आणविक केन्द्रमा क्षति भएको प्रचार भइरहेका छन् । तर इरानले भने खासै क्षति नभएको बताएको छ । उसले साे क्षेत्रमा  एलर्ट भने जारी गरेको छ ।

अमेरिकाले निसाना बनाएका स्थानमध्ये एउटा फोर्दो हो। त्यो भनेको इरानको महत्त्वाकाङ्क्षी परमाणु कार्यक्रमका लागि युरेनिअम संवर्धन गर्ने दुर्गम पहाडी भागमा जमिनमुनि रहेको एउटा प्लान्ट हो।

फोर्दोमा भएको क्षतिको पूर्ण विवरण अझै बाहिर आएको छैन।अमेरिकाले अन्य दुई परमाणु केन्द्रहरू नटान्ज र इस्फाहानमा पनि प्रहार गरेको बताएको छ।

तेहरानको दक्षिणमा रहेको पहाडमा रहेको फोर्दोलाई यूके र फ्रान्सलाई जोड्ने च्यानल टनेलभन्दा गहिरो भूमिगत केन्द्र मानिन्छ।

फोर्दो जमिनमुनि निकै गहिराइमा रहेका कारण त्यसलाई नष्ट गर्न सक्ने “बङ्कर बस्टर” बम अमेरिकासँग मात्र छ। त्यो अमेरिकी बमलाई जीबीयू-५७ म्यासिभ ओर्डनेन्स पेनिट्रेटर (एमओपी) भनिन्छ।

विज्ञका अनुसार उक्त बमको तौल १३,००० किलोग्राम छ र विस्फोट हुनुअघि यो करिब १८ मिटर (६० फीट) सम्मको कङ्क्रिट वा ६१ मिटर (२०० फीट) गहिराइसम्मको माटो र ढुङ्गामाटोसहितको भूसतहमा पुग्न सक्छ।

फोर्दो केन्द्रका सुरुङको गहिराइका कारण एमओपी पनि सफल हुने ग्यारेन्टी छैन यद्यपि त्यसलाई नष्ट गर्न वा त्यसको नजिक पुग्न सक्ने यो मात्र गैर परमाणु बम हो।

पछिल्लो हमलामा अमेरिकी सञ्चारमाध्यमहरूले एमओपी प्रयोग गरिएको बताएका छन्।

के कति क्षति भयाे ?

अमेरिकी आक्रमणले परमाणु केन्द्रहरूमा कति क्षति पुर्‍याएको छ वा कुनै प्रकारको हताहत भएको छ कि छैन भन्ने अझै स्पष्ट भएको छैन।

इरानको आणविक ऊर्जासम्बन्धी निकायले तीनवटा परमाणु केन्द्रहरूमा बम विस्फोट गर्नु अन्तर्राष्ट्रिय कानुनको “बर्बर उल्लङ्घन” भएको बताएको छ।

साउदी अरब र संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले आक्रमण पछि त्यहाँ विकिरणको स्तरमा कुनै वृद्धि नभएको बताएका छन्।

इरानको राष्ट्रिय प्रसारक संस्थाका उप-राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले “केही समयअघि” तीनवटै परमाणु केन्द्रहरू खाली गराएको थियो।

सरकारी टेलिभिजनमा देखिएका उनले भने: “इरानले ठूलो धक्का सहनु परेको छैन किनभने त्यहाँ रहेका सामग्रीहरू पहिले नै बाहिर निकालिएको थियो।”

तर आफ्नो टेलिभिजन सम्बोधनमा डोनल्ड ट्रम्पले “परमाणु संवर्धनसम्बन्धी केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको” जनाएका थिए।

तर बीबीसी न्यूज च्यानलमा बोल्दै अमेरिकाका राजनीतिक तथा सैन्य मामिलाका लागि पूर्व सहायक विदेशमन्त्री मार्क किमिट अलि बढी सतर्क देखिएका थिए।

“यो सधैँका लागि नष्ट भएको आधार दिने कुनै तरिका छैन,” उनले भने।

इरानका विदेशमन्त्रीले फोर्दो, इस्फहान र नटान्जमा गरिएको आक्रमणले “अनन्त परिणामहरू” निम्त्याउने अमेरिकालाई चेतावनी दिएका छन्।

विदेशमन्त्री सैयद अब्बास अरागचीले इरानले आफ्नो सम्प्रभुताको रक्षा गर्न “सबै विकल्प”को अधिकार आफूहरूमा रहेको बताएका छन्।- बीबीसी