इरानमा भएको अमेरिकी आक्रमणको संयुक्त राष्ट्रसंघ र एइओआईको विरोध

मूलखबर संवाददाता
काठमाडौं, ८ असार ।

इरानमाथि अमेरिकी आक्रमणको संयुक्त राष्ट्र संघ र इरानको आणविक ऊर्जा सङ्गठन (एईओआई)ले कडा विरोध गरेका छन् । शनिवार राती इरानी भूमिमा अमेरिकाले गरेको हमलालाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनिओ गुतेरेसले आलोचना गरेका छन ।

गुतेरेसले सामाजिक सन्जालमा पोस्ट गरेर शन्तिको कामना गरेका छन्। उनको पोस्टमा लेखिएको छ, ‘म आज अमेरिकाले इरानमाथि गरेको बल प्रयोगप्रति गम्भीर चिन्तित छु। यसले पहिल्यै तनावग्रस्त रहेको क्षेत्रलाई अझ अस्थिर बनाउँदैछ – र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामाथि प्रत्यक्ष खतरा हो।

यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने जोखिम बढ्दो छ – जसको विनाशकारी परिणाम सर्वसाधारण, मध्यपूर्व क्षेत्र र सम्पूर्ण विश्वका लागि हुन सक्छ।
म संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई परिस्थितिलाई शान्त बनाउने र संयुक्त राष्ट्रसंघको विधान तथा अन्तर्राष्ट्रिय कानुनअनुसारको दायित्व पालना गर्न आग्रह गर्दछु।

यो संकटपूर्ण घडीमा अराजकता बढाउने चक्रबाट टाढा रहनु अत्यावश्यक छ।

यस समस्याको सैन्य समाधान छैन।
एक मात्र बाटो कूटनीति हो।
एक मात्र आशा शान्ति हो।’

इरानको आणविक ऊर्जा सङ्गठन (एईओआई)ले इरानका तीन आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरेको छ । यस क्रममा एईओआईले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को पनि आलोचना गरेको छ ।