आज संसद बैठक बस्ने, सभामुखले जारी गरे कार्यसुची, हाेला त बैठक ?
प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ। भिजिट भिषा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखककाे राजिनामा र छानविनकाे माग सहित १४ दिनदेखी अवरुद्घ सदनकाे बैठक हिजाे पनि सहमति बन्न नसकी स्थगित भएको थियाे ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे तय भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पठाउने कार्यसूची छ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची छ।
उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामाबारे केही लचकता देखाएकाे भएतापनि अझै सहमति बनिसकेको छैन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन आफुहरू जिम्मेवारपुर्ण ढंगबाट लागेकाे तर अनियमितता र भ्रष्टाचारको छानविन गर्न सत्तापक्ष तयार नभएको बताउँदै आजबाट सहमति भएर संसद खुल्ने बताएका छन् ।





