अमेरिकाबाट १७७ जना नेपाली डिपाेर्ट, काे परे डिपाेर्टमा ?
अमेरिकामा राष्ट्रपतिकाे रूपमा डोनाल्ड ट्रम्पकाे दोस्राे कार्यकाल शुरू भएपछि १ सय ७७ जना नेपालीलाई डिपाेर्ट गरिएको छ ।
अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा शनिबारसम्म १ सय ४० नेपाली निष्कासनमा परेकामा आइतबार थप ३७ जनालाई अमेरिकाले चार्टर्ड विमानबाट काठमाडौं पठाएको हो ।
आइतबार नेपाल आइपुगेकाहरूलाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट पठाएको हाे । आइतबार ३२ पुरुष र ५ महिलालाई अमेरिकाले नेपाल फर्काएको हो । चार्टर्ड विमानबाट नेपाली नागरिकसँगै अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता पठाएको थियाे ।
विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्कासनमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानुनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।
यसअघि ८ जनालाई एकै पटक गत २१ फागुनमा चार्टर्ड जहाजबाट र बाँकीलाई नियमित उडानबाट नेपाल ल्याइएको थियो ।





