
सुरक्षण मुद्रणमा करोडौं भ्रष्टाचार गरेको आरोपमा विकल पौडेल दोषी ठहर
सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा मिलेमतो गरी करोडौं भ्रष्टाचार गरेको आरोपमा विकल पौडेल दोषी ठहर भएका छन्।
विशेषले अख्तियारको दाबीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसला गरेको छ। जसमा विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी प्रतिवादीबाट असुलउपर गर्नुपर्ने फैसला गरेको छ।
अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ करोड ३४ लाख १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ। पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ।
अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिबल्लभ घिमिरे र खड्कबहादुर थापालाई भने विशेषले सफाइ दिएको छ। उनीहरू खरिद प्रक्रियामा संलग्न देखिए पनि खरिद कार्यमा कुनै निर्णायक भूमिका नदेखिएको फैसलामा उल्लेख छ।
विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो।