सामाजिक सुरक्षा काेषमा ६ वर्षमा १७ लाख ९४ हजार मात्रै श्रमिक आवद्व, किन भयाे यस्तो ?

मूलखबर संवाददाता
काठमाडौं, १२ मंसिर

सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा १७ लाख ९४ हजार श्रमिक मात्र आबद्ध भएका छन् ।

रोजगारदाता र श्रमिकको सहमतिमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा काेषमा संलग्नता सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीमा जानेको छ । वैदेशिक रोजगारीमा जानेको कोषमा आबद्धता भए पनि नियमित योगदान छैन ।

सामाजिक सुरक्षा कोषका अनुसार आन्तरिक श्रम बजारमा योगदान गर्ने १९ हजार ७ सय ६७ रोजगारदाताले ५ लाख ४३ हजार श्रमिकलाई मात्रै कोषमा आबद्ध गराएका छन् । त्यस्तै वैदेशिक रोजगारमा जाने १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत योगदानबाट प्राप्त ७० अर्ब र त्यसको ब्याजसमेत गर्दा हाल कोषको खातामा करिब एक खर्ब रुपैयाँ छ ।

नेपाल श्रम शक्ति प्रतिवेदन–२०१७/१८ अनुसार अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार, औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र स्वरोजगारीमा १८ लाख रहेको छ । कोषले ०७५ मंसिर ११ मा लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा सुरुमा औपचारिक क्षेत्रलाई मात्रै समेटेको थियो । तर, २०७९ फागुनदेखि वैदेशिक रोजगारीमा गएका श्रमिक र २०८० वैशाख १ देखि भने उक्त कार्यक्रममा अनौपचारिक एवं स्वरोजगार श्रमिकलाई समेत समेटिएको हो । सरकारले अझै सरकारी कोषबाट तलब सेवा सुविधा लिने स्थायी, ज्यालादारी एवं करारमा कार्यरत झन्डै ३० हजार कर्मचारीलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याएको छैन ।

ट्रेड युनियनहरूका अनुसार ६ वर्षसम्ममा कम्तीमा ३५ लाख श्रमिक कोषमा आबद्ध हुने अनुमान थियो । तर, औपचारिक क्षेत्रका ५ लाख श्रमिक मात्रै कोषमा आबद्ध भएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार सामाजिक सुरक्षा योजनामा श्रमिकको सहभागिता बढेमा मुलुकको आर्थिक वृद्धि, सामाजिक स्थिरता र श्रम उत्पादकत्वमा योगदान पुग्छ । ‘सामाजिक सुरक्षा योजनामा अधिकतम सहभागिता भएको खण्डमा जोखिम व्यवस्थापन सजिलो हुन्छ । सामाजिक अनुबन्धनलाई बलियो बनाउँछ । श्रमिकहरूबीच सामूहिक जिम्मेवारी र एकता पैदा गराउँछ,’ आईएलओको प्रतिवेदनमा उल्लेख छ ।(कान्तिपुर)