एमालेद्वारा जग्गा दान लिन हुन्न भन्ने तीन नेताहरूलाई स्पष्टीकरण साेधियाे

मूलखबर संवाददाता
काठमाडौं, ४ कात्तिक २०८१

सत्तारूढ नेकपा एमालेले पार्टीको गलत नीति र व्यवहारकाे आलाेचना गरेका नेताहरूलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकले साे निर्णय गरेकाे प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमदरले विज्ञप्तिमार्फ जानकारी दिएका छन् ।

भ्रष्टाचार प्रमाणित र सरकारी मुद्दा चलिरहेका मीनबहादुर गुरूङसँग झन्डै एक अर्बको जग्गा दानमा लिन हुन्थेन भनेकाले एमालेले स्थायी समिति सदस्य विन्दा पाण्डेलाई स्पष्टिकरण सोधिएकाे हाे  । विन्दा पाण्डेले त्यस्तो दान नलिएर कार्यकर्ता तथा नेता आफैले आफ्नो कार्यालय बनाउन पर्छ, त्यस्तो दान लिँदा शिर झुक्छ भनेकी थिइन् ।

विन्दा पाण्डे एमालेभित्र अध्ययनशील र योग्य महिला नेतृ मानिन्छिन् । पाण्डेसँग लैङ्गिक र विकास अध्ययन र वनस्पति विज्ञानमा गरी दुई स्नातकोत्तर डिग्री छ, साथै शिक्षा र कानूनमा दुई स्नातक डिग्री छ। उनले सन् २०१७ मा काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेकी छिन् । महिला र समानताका पक्षमा उनका ४ वटा पुस्तक प्रकाशित छन् ।

पाण्डेसँगै केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना र भिम रावललाई पनि स्पष्टीकरण साेधिएकाे छ ।

पाण्डेले के भनेकी थिइन ? 

‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’

व्यापार व्वसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनले उल्लेख गरेकी थिइन् । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ स्थायी कमिटी सदस्य पाण्डले भनेकी थिइन्,’समय घर्की सकेकेा छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गैारव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं ।’

तिम्सिनाले यस्तो भनेकी थिईन् – 

हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस् ।हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिनेर भूमि बाँकी राखिदिनुहोस् ।