राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।
नेकपा (एमाले) को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनर्स्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराउनुभयो ।
उहाँले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।