सरकारकाे ध्यान राजदूत हेरफेर र नियुक्तिमा, भागबन्डाकाे गृहकार्य शुरू

मूलखबर संवाददाता
काठमाडौं, १२ साउन

सरकारले राजदुत हेरफेर र नियुक्तिकाे तयारी गरेको छ । नयाँ सत्ता समिकरण बनेर नयाँ सरकार गठन भएपछि सत्तारूढ गठबन्धन दल कांग्रेस एमालेले राजदूत नियुक्तिमा ध्यान केन्द्रीत गरेका हुन् ।

सरकारले अब माओवादी सिफारिसमा राजदूत भएका ३ र एसबाट राजदूत भएका २ जनालाई फिर्ता बोलाउने र त्यसपछि रिक्त हुने सबै १६ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ  । हाल माओवादीको कोटाबाट चीनमा विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र र दक्षिण अफ्रिकामा दानबहादुर तामाङ राजदूत छन् भने एसबाट रुसमा मिलन तुलाधर र अस्ट्रेलियामा कैलाश पोखरेल राजदूत रहेका छन् ।

सरकारका एक मन्त्रीले राजदूत नियुक्तिका लागि गृहकार्य भएको तर अझै फिर्ता बोलाउने र नयाँ नियुक्तिबारे निर्णय हुन बाँकी रहेको बताए । सत्ता गठबन्धन दलभित्र भारत, चीन र अमेरिकामा कसले पाउने र  कसलाई पठाउने भन्नेमा विवाद देखिएको छ । नयाँ गठबन्धनले गर्ने सिफारिसमा एमालेका तर्फबाट यसअघि सिफारिस भएका केही व्यक्तिहरूलाई फेरि सिफारिस गरिने एमालेका एक नेताले जानकारी दिएका छन् ।