एउटा अन्तरास्ट्रिय स्तरको छाप छोड्ने सिनेमा `घरज्वाँई´

बालकृष्ण माबुहाङ
काठमाडौं

रुकुम तकसेरा गाउँ पुगेको छैन। सन् १९९३मा रोल्पाको उत्तरी गाउँहरू डुलेको छु। तीनैको निरन्तरता होला भन्ने अनुमान हो। सिनेमा हेर्दा हो रैछ। सन् १९९३ बाट आज ३० वर्ष पछि पनि रुकुम रोल्पाका ती भित्री गाउँहरू उस्तै रहेछन। भन्ने आभास सिनेमाले दियो। उस्तै हुनुले दुइकुराहरू व्यकत गर्छ।

पहिलो, राम्रो पक्ष! हजारौँ वर्ष पुरानो सभ्यताको निरन्तरताको संरक्षण वा संरक्षित रुप पाउनु। दोस्रो, नराम्रो मा। मान्छेको दैनिकीमा अभाव- शिक्षा, स्वास्थ्य, विकासको समस्या। दुनियाँबाट विच्छेद ।

आजको दिनमा हलिवुड, बलिवुडले हराई सकेका समाजको कथा र वस्तु निर्माण गरेर कृतिम सिनेमा बनाउँछन, अरबौँ खर्च गरेर। तर निर्देशक अनिल बुढा, युवा सिने मेकरले तकसेराको वर्तमान अवस्थाको छाँयाङकन यसरी बनाएका रहेछन कि हलिवुड, बलिवुडले बनाउने सिनेमाको स्वाद चखाउने गरि। बिन्जुरी (मिरुना मगर) को बुवाको भूमिकामा खेल्ने कलाकार, वाङ्देल अन्तर्राष्ट्रिय स्तरकै कलाकार रैछन।

कथा सरर बगेको छ। इन्टरभल पछि भने दर्शकको अपेक्षानुरुप नबगेको होकि! भन्ने भयो।

दुइटा कमेन्ट! चलचित्रको नायक/ नायिका जुन भूमिकामा छन, त्यो एक्टिभ छैन। हिरो, हिरोनी जस्ता लाग्दैनन। त्यसले दर्शकलाई नमज्जा त बनाउँछ नै, त्यसले दया र मिरुनाको जुन क्रेज छ, त्यो मार्छ। जारी, मनसरा, गाउँ आएको बाटो, घरज्वाँई सबै सिनेमामा मैले त्यो देखेँ। एक्टिभ “हिरो,” को भूमिका दिन पर्छ।

दोस्रो, सिनेमा समाजमा भएका कथा र घटनाले मात्र हुन्न। कथामा निर्देशक, लेखक, इभन खेल्ने कलाकारमा पनि परिकल्पनाशीलता चाहिन्छ। नेपाली समाज पितृसत्तात्मक मूल्य मान्यताले जकडेको सवैले स्विकारेको कुरा हो। पितृसत्तात्मक मुल्य विरुद्ध सिनेमाले एक कदम हिँड्न सक्न पर्छ। उदाहरणको रुपमा माथि मैले नाम लिएका सिनेमाहरूमा सबैमा मिरुना सबमिसिभ भूमिकामा छिन।

घरज्वाँइमा नै हेरौँ। घरज्वाँइ बस्ने, नबस्ने; राख्ने नराख्ने जुन समस्या छ, त्यो सबै समस्या हल गर्ने जिम्मा विन्जुरीलाई दिँदा हुन्न ? किनि सोरो, उसको परिवार, विन्जुको बुवा सबै विन्जुमा नै थुरिन्छन। तर निर्णय उनीमा नभै अन्तै छ। जस्तो बँदेल कस्ले ढाल्ने जुन प्रश्न छ, हिरोनी विन्जुरी आफै क्षेमतावान छिन। आफ्नो प्रेमीको पक्षमा परिणाम निकाल्न बिन्जुरीले बँदेल लडाएको भए, सिनेमाको इन्डिङ अर्कै हुन्थ्यो। तर अनपेक्षित भिलेनको भूमिकाको बुवाले बँदेल लडाउँदा अनपेक्षित (अनएथिकल पनि) बन्यो।

मैले हेर्दा जुन स्वाद मैले गर्न पाएँ, तपाईंले हेर्नुभयो भने तपाइले पनि आफ्नै स्वाद पाउनु हुन्छ। फरक किसिमले पनि पाउनु हुन्छ। मित्र जब ब. बुढासित कुराहुँदा आको: “२/३०० को टिकटमा क्युएफएक्सले कति लिन्छ ? ३०/४० प्रतिशत ?” मैले भने “पुस्तक प्रकाशन जस्तै त होला! किताब लेख्नेले त १०% जति पाए जस्तै !” मेरो मतलब सिनेमा बनाउनु भनेर मात्र हुन्न। अर्थको चाँजो महंगो छ। यदि तपाईं हामी सबैले हेर्यौँ भने, सिनेमा बाँच्छ। हुर्कन्छ, र अर्को राम्रो सिनेमा बन्छ। कृपया सबैले एक पटक हेर्नुहोला अन्तर्राष्ट्रिय स्तरको स्वाद पाउने सिनेमा घरज्वाँई !

अन्तमा: यानीमायाको संगितको जुन पृष्ठपोषण भएको छ, त्यो संसारको जतिपनि फिल्म मेकरहरूको लागि अतुलनीय र मगर फिल्म मेकिङ्को विशिष्ट पहिचान स्थापित गरेको छ।

(समिक्षक तथा लेखक माबुहाङ त्रिभुवन विश्वविद्यालयकाे जनसंख्या संकायमा प्राध्यापक हुन्)