समाजवादी मोर्चामा एमाले सामेल नहुने, सहकार्य र गठबन्धन कायम रहने

मूलखबर संवाददाता
काठमाडौं, १० चैत ।

प्रमूख सत्ता घटक दल नेकपा एमाले समाजवादी मोर्चामा सामेल नहुने देखिएको छ । वानम एकताको पहलको लागि क्रियाशील समाजवादी मोर्चामा सामेल हुन समाजवादी मोर्चाले गरेको आग्रहलाई एमालले तत्काल सामल नभइ सहकार्य गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

समाजवादी मोर्चाको शुक्रबार बसेको बैठकले एमालेलाई पनि सहभागी हुन आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नयाँ सत्ता समीकरण बनेसँगै समाजवादी विचार भएका दलहरूबीच सहकार्यका लागि बनाइएको मोर्चामा एमालेलाई सहभागी बनाउने निष्कर्ष निकालेको थियो ।

शुक्रबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको भेटमा ओलीले आफ्नो पार्टी समाजवादी मोर्चामा मिसिन उपयुक्त नहुने धारणा राखेका थिए । ‘अहिले तपाईंहरू नै मोर्चा सम्हाल्नुस्, हामी एउटै गठबन्धनमा छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले स्रोतले भन्यो, ‘सरकारमा अरू दललाई पनि सहभागी गराउन चाहेका छौं । हामी यो मोर्चामा सहभागी हुनु उपयुक्त हुँदैन ।’ ओलीले एमाले पनि मोर्चाबन्दीमा सहभागी भए गलत सन्देश जाने बताएका थिए ।

समाजवादी मोर्चाको संयोजक आलोपालो हुने कार्यविधि छ । हालका संयोजक एवं नेकपा महासचिव नेत्रविक्रम चन्दले एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउन आग्रह गर्ने निर्णय भएको बताए । मोर्चाले प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीसँग कुरा गर्ने जिम्मा दिएको थियो । ‘समाजवादी मोर्चामा सहभागी हुन एमालेलाई आग्रह गर्ने निर्णय भएको छ,’ चन्दले भने, ‘विचारधारामा नजिक हुने दलहरू एउटै मोर्चामा बस्नु राम्रो हुने भएकाले एमालेलाई आग्रह गरिएको हो ।’ यसअघि मोर्चाका संयोजक चन्दले बिहीबार बालकोट पुगेर ओलीलाई समाजवादी मोर्चामा सहभागी हुन आग्रह गरेका थिए । ‘ओलीजीले सकारात्मक कुरा गर्नुभएको छ,’ उनले भने । विचार नजिक हुने दलहरूबीच मोर्चा हुनु स्वाभाविक भएकाले आफूले ओलीसमक्ष प्रस्ताव राखेको चन्दले बताए । सरकार बाहिर रहेको नेकपा गत असारमा सत्ता गठबन्धनका तीन दलसहित सहभागी भएको थियो । ‘मुलुकमा एउटा समाजवादी केन्द्र आवश्यक छ, त्यसैले मोर्चा बनाएर काम गरौं भन्ने यसको उद्देश्य हो,’ चन्दको भनाइ छ ।