कुनै कसुर गरेको ठहर भए गृहमन्त्रीलाई बर्खास्त गर्छु: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेले कुनै कसुर गरेको ठहर भए तुरुन्तै बर्खास्त गर्ने बताउनु भयो ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले समय माग गरेर बोल्दै गृहमन्त्री लामिछानेले कुनै कसुर गरेको ठहर गरे तुरुन्तै बर्खास्त गर्ने बताउनु भयो । उहाँले सबैलाई यो विषयमा राजनितीकरण नर्गन अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नु भयो ।
“सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।”
सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताउनु भयो ।
सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।