पर्यटकीय राजधानी बनेको पोखरा, यी हुनेछन् फेरिएका विशेषता

मूलखबर संवाददाता
काठमाडौं

पर्यटकीय सहर पोखरा आइतबारदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे ।

प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् ।

पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने उनको भनाइ थियो ।

‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।’

आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यसमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

के हुनेछन् पर्यटकीय राजधानीका विशेषता
पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै अब पोखरा २४ सै घण्टा खुला रहने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ४३ वटा मापदण्ड तय गरेर पोखराका मुख्य पर्यटकीय क्षेत्र २४ सै घण्टा खुला रहने व्यवस्था मिलाइएको हो ।

महानगरपालिका मेयर धनराज आचार्यले अब पोखरा २४ सै घण्टा खुला रहने उल्लेख गरे । ‘आजैदेखि निश्चित मापदण्ड र कार्यविधिको आधारमा पोखरा चौबिसै घण्टा खुला गरिएको छ’, उनले भने । सङ्घ, प्रदेश र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने मेयर आचार्यले विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै ठुलो चुनौती थपिएको बताउँछन् ।

‘पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने प्रदेश सरकार, स्थानीय सरकार तथा व्यवसायीको चाहना त पुरा भएको छ । तर, त्यससँगै धेरै चुनौती पनि थपिएको छ,’ उनले भने, ‘पोखरालाई अन्य ठाउँभन्दा पृथक् र सुरक्षित बनाउन सके मात्र राजधानी घोषणाको औचित्य पुष्टि हुन्छ ।’

सो अवसरमा कास्कीको हेम्जामा जन्मिएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो। यस्तै दिवंगत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ…’ गीत गाएका थिए।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो पटक २०७५ मङ्सिर २८ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घीय सरकारलाई पत्राचार गरेका थिए । गण्डकीकै पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले २०७८ कात्तिक २९ गते पोखरालाई पर्यटकीय राजधानी बनाउन अनुरोध गरेको थियो । यस्तै २०७९ जेठमा पोखरा महानगरको नगर कार्यपालिकाको बैठकले पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो ।