धेरै जसो पुरानै अनुहार, परराष्ट्रमा नारायणकाजी, अर्थमा वर्षमान, गृहमा रवि अरुमा को को ?

मूलखबर संवाददाता
काठमाडौं, २३ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मन्त्रीपरिषद विस्तार हुन लागेको छ । नयाँ गठबन्धन बनेसँगै आज दोश्रोपटक मन्त्रीपरिषद विस्तार हुन लागेको हो । आज हुने मन्त्रीपरिषद विस्तारमा धरै जसो पुरानै अनुहार दोहोरिने भएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबाट मन्त्रीहरु बन्ने भएका हुन् । जस अनुसार माओवादी केन्द्रबाट परराष्ट्रमन्त्री सहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीमा वर्षमान पुन अनन्तले जिम्मेवारी पाएका छन् भने शक्ति वस्नेत र रेखा शर्माले पुरानै मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पर्यटन मन्त्रालयमा हितबहादुर तामाङले जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताउनुभयो ।

सम्भवतः आजै अपराह्न ५ बजे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको उहाँले बताउनुभयो । मन्त्री हुनुभएका तामाङको शपथ भइसकेको छ ।

सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा ९एमाले० ले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहनुभएको छ ।

नेकपा ९एमाले० बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्नुहुने नेता दामोदर भण्डारीले जानकारी दिनुभयो । एमालेलाई एक जना राज्यमन्त्री पनि दिने सहमति बनेको उहाँको भनाइ छ ।

महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो लागिनसकेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा यो समाचार तयार गर्दासम्म औपचारिक पत्र भने पुगिनसकेको जानकारी प्राप्त भएको छ । जनता समाजवादी पार्टी ९जसपा० नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।