यसकारण बन्याे नयाँ गठबन्धन : अनन्त

मूलखबर संवाददाता
काठमाडौं, २३ फागुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अहिले बनेको गठबन्धन वाम तथा देशभक्त प्रगतिशीलहरुको भएको बताउनुभएको छ । पुर्व मन्त्री समेत रहेका माओवादी केन्द्र का प्रभावशाली युवा नेता अनन्तले याे गठबन्धन निर्माणमा तत्कालीन सत्तारूढ दल नेपाली कांग्रेसकाे व्यवहार पनि कारण बनेको बताएका छन् ।

अनलाइनखबरसँग कुराकानीमा नेता अनन्तले गठबन्धन नयाँ बनेका कारणबारे भनेका छन्-  पोहोर चुनावको म्यान्डेटअनुसार हामी  सरकार बनाउने तयारीमा थियौं । अन्तिम समयमा कांग्रेसले एमालेसँग सहकार्य गर्ने निष्कर्षमा पुगेपछि त्यसबेला बाध्यात्मक अवस्थामा वाम सहकार्य गरेका थियौं । तर त्यो पछि टिकेन ।

पछिल्लो समय कोशीमा मुख्यमन्त्री चुनाव, राष्ट्रिय सभा चुनाव आदिमा कांग्रेसको कारण सहकार्यमा दरार आयो । अविश्वास विस्तारै बढ्दै गयो । कांग्रेसको महासमिति बैठकमा तीनवटा कुरा आए । संविधानको रक्षा र कार्यान्वयनमा प्रश्न उठाउने गरी धर्मनिरपेक्षतामा प्रश्न बहुमतबाटै उठ्ने अवस्था बन्यो, जसबाट हाम्रा कार्यकर्तामा एउटा मनोविज्ञान बन्यो ।

अर्को, कांग्रेसले रूख बाहेक अन्त भोट नहाल्ने भन्यो । भविष्यका लागि यो उसको स्वाभाविक प्रस्ताव भए पनि आजै हामीलाई सरकारमा नबस भनिएको जस्तो लाग्यो । तेस्रो निर्णायक– सभापतिकै तर्फबाट पेश गरिएको नीतिगत प्रस्तावमा जनयुद्ध आवश्यक थिएन, असान्दर्भिक र ध्वंसात्मक थियो, क्षति भयो भनेर चर्चा आयो । शान्ति प्रक्रियाको सहयात्री मानेकै शक्तिले शान्ति प्रक्रियामा समेत प्रश्न उठाउन खोजेको अनुभूति हामीलाई भयो । सँगै बस्न नसकिने तर्फ विस्तारै गयो ।

सेवा प्रवाह, विकासको क्षेत्रमा काम गर्न प्रधानमन्त्रीले चाहनुभए पनि त्यसका लागि सहयोग गर्न नखोजेको जस्तो, खासगरी युवा पुस्तामा पनि आशा जगाउने गरी तीन महिनायता काम गर्न खोज्दा नसकिने अवस्था आए जस्तो भयो । बसिराख्नुको मात्रै अर्थ नदेखिएकाले गर्दा कोर्स परिवर्तन नै गर्नुपर्ने आवश्यकता देखियो । यी सबै पृष्ठभूमिमा विकास, राजनीति र सोच मिल्नेहरुको बीचमा विकास, सेवा प्रवाह र सुशासनमा काम गर्ने समझदारी बन्न गयो ।

उनलेे विचार मिल्नेहरुबीच एकता, सहकार्य हुनु अनौठो नहुने बताएका छन् ।  उदार लोकतान्त्रिक सोच राख्नेहरु एक ठाउँमा हुनु अनौठो भएन । वाम शक्तिहरु एकठाउँ हुनु पनि अनौठो नै भएन । तर कोशीको घटना, सरकार सञ्चालनमा कांग्रेसबाट अवरोध, महासमिति आदिले हामीलाई एमालेसँग नजिक लैजाँदै गयो ।