प्रचण्डले अडान नछोडेपछि गले देउवा, मन्त्री फेर्ने र राष्ट्रियसभा अध्यक्ष दिनेगरी ‘कम्प्रोमाइज’

मूलखबर संवाददाता
काठमाडौं

माओवादी केन्द्रले आवश्यक परे गठबन्धनकै विकल्प खोज्नसक्ने देखिएपछि सत्ता साझेदार नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कम्प्रोमाइज गर्ने रणनीति लिएको छ।

पछिल्लो समय कांग्रेससँग माओवादी निराश छ । कोशी प्रकरण, सरकारमा असहयोगदेखि लिएर महासमिति बैठकको निर्णयसम्मले माओवादीमा कांग्रेससँगकको सहकार्यबारे पुनर्विचार गर्न दबाब बढिरहेको छ।

सरकारमा रहेका मन्त्रीको कामकारबाही चित्तबुझ्दो नभएको भन्दै पुसमै मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका प्रचण्ड कांग्रेसकै कारण तीन महिना रोकिएका थिए। अहिले भने प्रचण्डले मन्त्री फेर्ने कसरत थालिसकेका छन्।

माओवादीले राष्ट्रियसभा अध्यक्षमा नछोड्ने अडान लिएपछि कांग्रेस सभापति शेर बहादुर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई दूत बनाएर बालुवाटारमा छलफलका लागि पठाएका थिए । तर प्रधानमन्त्री प्रचण्डले भने कांग्रेसबाट निरन्तर धोका पाएको भन्दै गठबन्धन सहजै अगाडि बढ्नेमा सन्देह प्रकट गर्दै आएका छन् ।

यी सबै घटनाक्रममा कांग्रेस भने राष्ट्रियसभा अध्यक्षको निर्वाचन अगाडि रक्षात्मक अवस्थामा देखिएको छ । सभापति शेर बहादुर देउवाले प्रचण्डसँग कम्प्रोमाइजको बाटो समात्ने रणनीति लिएका छन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सत्ता गठबन्धनलाई एमालेले टुटाउन खोज्ने प्रयत्न गरे पनि अन्तिममा कांग्रेस र माओवादी समझदारीमा पुग्ने दाबी गरे।

गठबन्धन जोगाउनका लागि अध्यक्ष छोडेर र मन्त्री फेरबदल गर्नसमेत सभापति शेरबहादुर देउवा तयार हुने संकेत विश्वकर्माले दिए ।

बिहीबार बुढानिलकण्ठस्थित निवासमा देउवाले मन्त्रिपरिषदमा हेरेफेर हुने जानकारी आफ्नो पार्टीका पदाधिकारीहरुलाई गराएका छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोलाएर देउवाले बाध्यताले मन्त्री फेर्नुपर्ने अवस्था आएको बताए।

अहिले नै मन्त्री फेर्ने नहुने अडान राखे पनि प्रचण्ड तत्काल फेरिहाल्ने पक्षमा रहेकाले अब रोक्न नसक्ने देउवाको भनाइ थियो।

माओवादीको दाबीबीच कांग्रेसले पनि राष्ट्रियसभामा उम्मेदवारी दिए राजनीतिक रुपमा गठबन्धन टुट्ने भएकाले सहमतिमा एउटै उम्मेदवार बनाउनुपर्ने दबाब कांग्रेससामु छ ।

मुख्यगरी कोशी प्रदेशमा कांग्रेसबाट पटकपटक धोका पाएको, महासमिति बैठकमा चुनवताका गठबन्धनको तालमेलविरोधी निर्णय गरेको, माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि भनेकोजस्ता विषयप्रति माओवादीले गम्भीर असहमति राख्दै आएको छ । यसैले राष्ट्रियसभा अध्यक्षमा कांग्रेसको इच्छाविपरित उम्मेदवारी दिने र एमालेसमेत सहयोग खोज्ने चेतावनी माओवादीले दिँदै आएको छ ।