कांग्रेससँगको सहकार्यबारे पुनर्विचार गर्ने मुडमा माओवादी, गठबन्धनविरोधी हावी भएको निष्कर्ष
नेकपा माओवादीले नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्ने संकेत गरेको छ। कांग्रेसको महासमिति बैठकमा पारित भएका प्रस्ताव र गरिएका निर्णयपछि माओवादीमा कांग्रेसँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्ने आवाज उठेको हो।
मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने सबैजसो स्थायी कमिटी सदस्यहरूले कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने धारणा राखेका छन्।
‘हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो, त्यही विषयसँग जोडिएर राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन नहुने विषयमा साथीहरूका धारणा आए,’ प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले भने,‘यसबारेमा बुधबार अन्तिम निर्णय गरिन्छ।’
बैठकमा कांग्रेस महासमितिको बैठक र अहिलेसम्म कांग्रेसका कारण माओवादीलाई भएको फाइदा/ बेफाइदाबारे कुरा उठेको थियो।
‘मंगलबारको बंठकमा कांग्रेस महासमिति बैठकमा भएका तीनवटा विषयमा समीक्षा भए,’ उपमहासचिव वर्षमान पुनले मूलखबरलाई भने, ‘ बुधबारको बैठकबाट हामी एउटा निष्कर्षमा पुग्छौं।’
पहिलो नम्बरमा कांग्रेस महासमितिमा गठबन्धनबारे भएको छलफलमा माओवादीको गम्भीर ध्यानाकर्षण भएको छ। बैठकमा बोल्ने सबै स्थायी कमिटी सदस्यहरूले माओवादीकै मत पाएर पहिलो पार्टी भएको कांग्रेसले गठबन्धनमाथि नै धावा बोल्नु अनैतिक काम भएको बताएका छन्।
गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले आउँदो निर्वाचनमा गठबन्धन गर्न नहुने प्रतिवेदन ल्याएका थिए। यो प्रस्ताव कांग्रेस महासमितिले पारित गरिसकेको पनि छ। कांग्रेसले पारित गरेको यो प्रस्तावबारे नै माओवादी बैठकमा गम्भीर समीक्षा भएको र एउटा निष्कर्षमा पुग्नुपर्ने कुरा उठेको हो।
माओवादीले स्थायी कमिटीमा समीक्षा गरेको दोस्रो विषय हो, उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदन।
उनले माओवादीले सशस्त्र संघर्षबारे लेख्दै माओवादीको हिंसात्मक गतिविधिका कारण देश पछाडि धकेलिएको निष्कर्ष प्रतिवेदनमा लेखेका थिए। खड्काले महासमितिमा राखेको यो प्रतिवेदनबारे माओवादीले स्थायी कमिटी बैठकमा समीक्षा गरेको र उनको यो प्रतिवेदनलाई परिवर्तन अस्वीकार गर्ने र असान्दर्भिक भनिएकोबारे गम्भीर असहमति प्रकट भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।
यसैगरी माओवादी स्थायी कमिटी सदस्यहरूले कांग्रेस महासमितिमा प्रतिगमनलाई सघाउने प्रवृत्ति देखिएको निष्कर्ष निकालेका छन्। सनातन हिन्दु राष्ट्रको एजेण्डालाई महासमिति बैठकमा प्रवेश गराएर कांग्रेस फेरि पछाडि फर्किएको र यस्तो प्रवृत्तिको कांग्रेससँग गठबन्धन गर्नुको कुनै अर्थ नभएको छलफल बैठकमा भएको उपमहासचिव पुनले बताए।
कांग्रेस महासमितिमा सनातन हिन्दु राष्ट्रको माग गर्दै १ हजार ६३ महासमिति सदस्यहरूले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए।
‘यी तीन विषयमा गम्भीर छलफल भएको छ,’ पुनले भने,‘यस्तो अवस्थामा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन हुन्न भनेर साथीहरूले गम्भीर प्रश्न उठाउनुभएको छ।’
कांग्रेससँग रुष्ट माओवादी नेताहरूले प्रधानमन्त्री प्रचण्डमाथि राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउन दबाब दिएका छन्। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अधिकांश नेताहरूले राष्ट्रियसभाको अध्यक्ष छाड्न नहुने मत राखेको बताए।
राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेको छ । तर, माओवादी स्थायी कमिटीका नेताहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेका हुन् ।