सोमबारको घटनाले संसदको सुरक्षामा गम्भीर प्रश्नः कसरी भयो घटना

मूलखबर संवाददाता
काठमाडौं

साेमबार दिउँसाे नयाँबानेश्वरस्थित संसद भवनमा लघुवित्तपीडितहरू छिरेर प्रदर्शन गरेकाे घटनाले समग्र सुरक्षा व्यवस्था र संसदको सुरक्षामा पनि गम्भीर प्रश्न उठेको छ। घटनाको गम्भीरतालाई दृष्टिगत गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेका छन् ।

उनले काठमाडौंका सबै सुरक्षा प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, काठमाडौं जिल्ला प्रहरी प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका अधिकारीहरूलाई गृहमन्त्री श्रेष्ठले आकस्मिक रूपमा मन्त्रालयमा डाकेका हुन् ।

उनीहरूलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी कसरी भयाे भनेर प्रश्न गरेका थिए।

छलफलमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत सहभागी थिए ।

सुरक्षा प्रमुखहरूले ४८ जना महिलाको टिम एकै पटक प्रवेश गरेपछि सङ्घीय संसद्को नम्बर–२ गेटमा सुरक्षार्थ खटिएका प्रहरीले रोक्न नसकेको ‘ब्रिफिङ’ गरेका छन् । गौशालास्थित सिफलमा बसिरहेका लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समितिले आफ्नो औपचारिक कार्यक्रम नभएको बताएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको थिएन । तर, सिफल तथा अन्यत्र होटलमा बसेका आन्दोलनकारीहरू अचानक आएपछि स्थिति नियन्त्रण बाहिर गएको विश्लेषण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद् भवनको बाहिरी घेरामा खटिएका दुई दर्जन बढी सुरक्षाकर्मीलाई फिर्ता गर्ने निर्णय गरेको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा ‘यस्ता गल्ती नगर्न’ निर्देशन दिएका छन् ।

संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी प्रधान कार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ।

सोमबार दिउँसो लघुवित्त पीडितहरू संसद भवनमा प्रवेश गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ।

समितिको सदस्यमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन्।